समाज

बाहुनडाँगीबाट ७ सय क्युफिट सखुवाको गोलिया बरामद

By admin

July 22, 2023

झापा । झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा सालको गोलिया काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

 

एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर १ बाहुनडाँगीस्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी तस्करी भइरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी त्यहाँ पुगेको थियो ।

 

सशस्त्र प्रहरी घटनास्थल पुग्दा एउटा जंगल पूरै फडानी गरी काठ लगिरहेको अवस्था फेला परेको एसपी अर्यालले जानकारी दिए । उनका अनुसार तस्कर समूहले ट्रयाक्टरमा लोड गरी लैजाँदै गरेको सालको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रयाक्टर छाडेर भागेका थिए।

 

सशस्त्रले तत्काल सो ट्रयाक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप अर्को ट्रयाक्टरसहित काठ फेला परेको एसपी अर्यालले बताए। त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको उनले बताए ।

घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरे पनि नियन्त्रणमा लिएको दुई वटा ट्रयाक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर डिभिजन वन कार्यालय झापा बुझाइसकेको एसपी अर्यालले जानकारी दिए ।