समाज

बीपी प्रतिष्ठानमा ‘छुट्टै डेंगी अस्पताल’ सञ्चालन

By admin

July 23, 2023

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

 

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीका अनुसार सय बेड क्षमताको कोभिड १९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको हो । प्राडा कार्कीले भने, ‘अन्य बिरामीकै चाप थेग्न नसकिरहेको बेला डेंगी संक्रमित बिरामीको चाप झन् बढेपछि कोभिड १९ अस्पतालको भवनलाई डेंगी अस्पताल बनाइएको हो ।’

 

उनका अनुसार पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० बेडको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत बेड डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो । केही दिनयता प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् ।

 

उनकाअनुसार डेंगीको प्रकोप बढेपछि उपचारबाट बञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावकाबीच पनि डेंगी अस्पताल सञ्चालनमा ल्याएको हो । इकान्तिपुरबाट