समाज

मौसमः कोशी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

By admin

July 26, 2023

झापा । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिएकी छन् ।

 

तर, लगातार झरी पर्ने सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबीच, यसपालिको वर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्। यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ ।

 

ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ । मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ ।

 

मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउँमा छोटो अवधिमा धेरै वर्षा भइरहेको मौसमविद् कडेलले बताइन् । अझै पनि आरिघोप्टे वर्षाको सम्भावना रहेकाले विपद्का घटना बढ्न सक्ने उनले बताइन् ।