समाज

पाँचथर दुर्घटनाकी घाइते सविना विकको मृत्यु

By admin

July 26, 2023

झापा । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो ।

 

उनको हिजो बेलुका ७ बजेतिर उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी विकलाई थप उपचारका लागि झापा ल्याइएको थियो ।

 

सोही दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको हिजो मृत्यु भएको थियो । उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बिर्तामोडको बीएण्डसी हस्पिटलमा ६ र बिर्तासिटी हस्पिटलमा ४ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताएका छन् ।