समाज

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

By admin

August 02, 2023

झापा । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।

 

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं १० बस्ने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

 

२०७० असार १३ गते ६ महिना कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको रिजालले बताए ।

 

यसैगरी, अदालतको २०७२ असार १ गतेको फैसलाअनुसार सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपियाँ जरिवाना फैसला भइ फरार रहेका कनकाई नगरपालिका वडा नं ४ बस्ने सुसन चुँडाललाई पनि प्रहरीले पक्राउ गरेर कारागार पठाइएको छ ।

 

प्रहरीका अनुसार तीन वर्षअघि बालयौन दुरुपयोग मुद्दामा १ वर्ष कैद, तथा प्रतिवादीले पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाई भराइदिनु पर्ने फैसला भएपछि फरार रहेका मेचीनगर नगरपालिका वडा नं ९ का नाम नखुलाइएका अर्का व्यक्तिलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।