शिक्षा

बिर्तामोडमा मोबाइल पत्रकारिता तालिम

By admin

August 03, 2023

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजनामा मोबाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम बिहीबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न भएको छ ।

 

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले प्रत्येक ब्यक्तिको हातमा मोबाइल भए पनि अधिकांसले सामाजिक सञ्जाल चलाउन र फोन उठाउन मात्रै प्रयोग गरिरहेको बताउँदै यसको बहुउपयोग आवश्यक रहेको बताए।

 

प्रत्येक नागरिकमा मोबाइलको पहुँच पुगेसँगै पत्रकारिताको ट्रेन्ड परिवर्तन भएको बताउँदै अध्यक्ष गिरीले अहिले सबैले श्रब्य वा पठनीय सामग्री मात्र नभई श्रब्यदृश्य सामग्रीतर्फ पाठकको रुची बढी देखिएको भनाइ राखे । पत्रकारिताको विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै उनले पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धिमा तालिम महत्वपूर्ण हुने बताए ।

 

लगभग ३० जना प्रशिक्षार्थी रहेको तालिममा सहजीकरण गर्दै पत्रकार गणेशमान मुखियाले भिडियो कसरी खिच्ने, आम पब्लिकमाझ सार्वजनिक गर्नुअघि सम्पादन एवं मिक्सिङ कसरी गर्नेजस्ता विषयमा सहजीकरण गरेका थिए।

 

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पुष्प खड्का, प्रशिक्षार्थीका तर्फबाट तेस्पी भट्टराईले धारणा राख्दै तालिमबाट धेरै कुरा सिक्न पाएको सुनाए । संस्थाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि कार्यक्रम संयोजक सञ्जु शिवाकोटीले प्रकाश पारेकी थिइन् ।