अर्थ बजार

झापामा तरकारी बजारको विषादी परीक्षण प्रयोगशाला खुलाउन माग

By admin

August 04, 2023

बिर्तामोड । बिर्तामोडको सब्जी बजारमा विषादीयुक्त तरकारी तथा फलफूल आउने र बिक्री वितरण हुने गरेको भए पनि यसको परीक्षण हुन नसकेको भन्दै उपभोक्ता जागरण अभियान झापाले तत्कालै विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन माग गरेको छ ।

 

बिर्तामोडको सब्जी बजारमा रहेको विषादी परीक्षण प्रयोगशाला एक सातादेखि बन्द रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको अभियानका झापाका अध्यक्ष मोहन काजीले बताए ।

 

सब्जी बजारमा विषादी जाँच गरेर मात्र फलफूल तथा तरकारी वितरण गर्नु पर्नेमा गत साउन १२ गतेदेखि बन्द भएको प्रयोगशाला खुलेको छैन । अहिले तरकारी तथा फलफूलको विषादी अवशेष नजाँची विक्री वितरण भइरहेको पाएका छौ, काजीले भने, ‘यसले मानव स्वास्थ्यमा ठुलो असर पुर्‍याउन सक्छ।’

 

यसैगरी सीमा नाकामा रहेको प्रयोगशालालाई नै व्यवस्थित रुपमा प्रयोग गर्न र प्रविधियुक्त बनाउन माग गरिएको छ । भारतबाट आयातित हुने तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणका लागि काँकडभिट्टामा सञ्चालित प्रयोगशालालाई पनि अझ व्यवस्थित बनाउन माग गरिएको हो ।

 

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले खाद्य प्रयोगशाला सञ्चालन गर्दै आएको छ । अभियानका सचिव विशाल थापाका अनुसार आफूहरूले भारतबाट आयात हुँदै गरेको आँप परीक्षण गर्न लगाउँदा विषादीको मात्रा धेरै पाएपछि आयात गर्न नदिएको पनि बताए । हामीले धेरै विषादी भएको एक गाडी आँप आयात गर्न रोकेका छौ’, उनले भने ।