अर्थ बजार

सुकेटार विमानस्थलमा दुई महिनादेखि छैन उडान

By admin

August 06, 2023

ताप्लेजुङ । सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई उडान भएको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सोमबार, बुधबार र बिहीबार गरी तीनवटा उडान तालिका राखेको छ । सिता एयरले सोमबार र शनिबार गरी दुईवटा तालिका राखेको छ ।

 

सातामा पाँचवटा उडानको तालिका भए पनि जेठ २६ पछि उडान भएको छैन । सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार नेपाल एयरलाइन्सले गत जेठ २६ गते अन्तिम उडान गरेको थियो । निजी कम्पनी सिता एयरले त चैत २४ गतेपछि उडान गरेको छैन ।

 

मनसुन सुरु भएपछि उडान तालिका हुँदा मौसम नखुल्ने र मौसम खुल्दा उडान तालिका नहुने गरेको राजवंशी बताउँछन् । वायुसेवा सञ्चालकले टिकटका लागि सम्पर्कमा आएकाहरुको विवरण राख्ने र उडान हुने भए खबर गर्ने बताउने गरेका छन् ।

 

नेपाल एयरलाइन्सका एक कर्मचारीका अनुसार साउन २२ गतेका लागि ताप्लेजुङबाट तीन र काठमाडौंबाट चारजना यात्रु सम्पर्कमा छन् । मौसम खुले जहाज चल्ने उनले बताए ।

 

सुकेटारमा जहाज अनियमित हुँदा यात्रुहरु जीपमा झापाको भद्रपुरसम्म जाने र त्यहाँबाट जहाजमा काठमाडौं जाने गरेका छन् । बृद्धबृद्धा, अशक्त र विरामीका लागि भने जहाजको नियमितता नहुँदा समस्या हुने गरेको छ ।

 

नागरिक उड्डयन प्राधिकरणले १२ बजेपछि पहाडी जिल्लाका विमानस्थलमा उडान नगर्न भनेका कारण उडान अझ अनिश्चित भएको छ । विमान सञ्चालकहरु मौसम खुल्दा यात्रु नपाउने समस्या पनि रहेको बताउँछन् । इकान्तिपुरबाट