समाज

संखुवासभा कारागारमा झडप, दुई जनाको मृत्यु

By admin

August 09, 2023

झापा । संखुवासभा कारागारमा दुई पक्षबीच झडपमा परी २ जना कैदीकाे मृत्यु भएको छ । झडपमा कैदीको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् ।

 

बिहान १ बजेतिर शौचालयको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।

 

बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भएको डिआईजी बास्तोलाले बताए । कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो । यो कारागार २५ जना क्षमताको हो ।

 

मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । संखुवासभा मादी नगरपालिका ५ का अर्का मृतक बिनोद तोलांगी जबर्जस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

 

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई कारागारमै राखिएको केही बेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।