समाज

अर्जुनधाराकी कविता राजवंशी ९ दिनदेखि बेपत्ता

By admin

August 11, 2023

शनिश्चरे । श्रीमान बैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका बेला तीन छोरालाई छोडेर अर्जुनधाराकी एक महिला नौ दिनदेखि बेपत्ता भएकी छिन् । झापाको अर्जुनधारा १० स्थित कालिस्थान घर भएकी २६ वर्षीया कविता राजवंशी नौ दिनदेखि बेपत्ता भएकी हुन् ।

 

गत साउन १७ गते बिर्तामोड कपडा किन्न जाने भनेर हिडेकी कविता घर नफर्किएपछि परिवारले बैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि बहराइन पुगेका श्रीमान ३० वर्षीय सुरेश राजवंशीलाई खबर गरेका थिए ।

 

बहराइनबाट मंगलबार घर आइपुगेका सुरेशले भौतारिदै श्रीमतीको खोजी गरिरहेका छन् । तर, श्रीमतीको कुनै अत्तोपत्तो लागेको छैन । कविताका परिवारले उनी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोड, अर्जुनधारा ११ स्थित गोलधाप प्रहरी चौकी, काँकरभिट्टास्थित माइती नेपाल र भारतको सिलगुडीस्थित एक गैरसरकारी संस्थामा निवेदनसमेत दिएको सुरेशका ठूलोबुबा खगेन्द्र राजवंशीले बताए ।

 

९ जनाको परिवार रहेको घरमा कसैसँग पनि विवाद नभएको र श्रीमानलाई बिदेश पठाउँदा चलाएको ऋण एक लाख १४ हजार रुपैयाँ हिड्नुभन्दा अघिल्लो दिन (मंगलबार) कविता आफैले तिरेको ठूलोबुबा खगेन्द्रले जानकारी दिए । उनका अनुसार कविताका साथमा आधा तोला सुन र २५-३० हजार रुपैयाँमात्र थियो ।

 

परिवारका अनुसार बिर्तामोड ५ जात्रुवाडी माइती रहेकी कविताको बारेमा माइती पक्षलाई पनि केही थाहा छैन । माइती पक्षले पनि कविताको खोजी गरिरहेको छ । सुरेश र कविताका कक्षा ५ मा अध्ययनरत १२ वर्षीय एक र ५ वर्षका जुम्ल्याहा २ छोरा एलकेजीमा अध्ययनरत रहेको बताइएको छ ।