समाज

बेपत्ता रेशिकाको शव गाडिएको अवस्थामा फेला

By admin

August 12, 2023

तेह्रथुम, (संक्रान्ति) । तेह्रथुमको आठराई गाउँपालिका १ सङ्क्रान्ति बजारमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दुई साता अघिदेखि बेपत्ता भएकी स्थानीय रेशिका श्रेष्ठको शव फेला परेको हो ।

 

गएको साउन १४ गते २४ वर्षीया रेशिका घरबाट बेपत्ता भएकी थिइन् । आज दिउँसा रेशिकाको शव आफ्नै घरनजिकै गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिए ।

 

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान् राजकुमार श्रेष्ठ पनि यही २४ गतेदेखि बेपत्ता भएका छन् । श्रीमान् श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खबर गरेका थिए ।

 

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरीसमेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताए ।