समाज

विहार लाँदै गरेको ३ लाखको मदिरा बरामद

By admin

August 16, 2023

झापा । दक्षिणी झापाका सिमावर्ती नाकाबाट भारतको विहार लैजाने मदिरा तस्करी अझै रोकिएको छैन । सशस्त्र प्रहरीले भारततर्फ लगिरहेको आशंकामा ठुलो परिमाणको मदिरा झापा गाउँपालिकाबाट बरामद गरेसँगै सिमावर्ती नाकाबाट मदिरा तस्करीको घटना मौलाएको हो ।

 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा २ स्थित कुवाडी सडकबारी सडक खण्डबाट विभिन्न ब्राण्डको एक गाडी मदिरा बरामद गरेको हो ।

 

सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको इशुजु पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको मादक पदार्थ गोरखा बियर, टुबोर्ग, ८८४८ भोड्का लगायत विभिन्न नाम गरेका मादक पदार्थ बरामद गरेको जनाइएको छ ।

 

सशस्त्रले मदिराको बिलबिजक माग्दा चालकले देखाउन नसकेको जनाइएको छ । भिसिटिएस र भ्याट बिलसमेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुनाबाट प्र १-०१-००१-७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो ।

 

भारतको बिहार राज्यमा मदिरा पूर्णरुपमा प्रतिबन्ध छ । त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिन्छ ।