खेलकुद

मछिन्द्रकाे एएफसी कप छनोट यात्रा समाप्त

By admin

August 16, 2023

झापा । भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएसँगै मछिन्द्र फुटबल क्लबको एएफसी कपको छनोटबाट बाहिरिएको छ ।

 

बुधबार भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानसँग ३-१ को हार बेहोरेसँगै मछिन्द्रको एएफसी कपको समूह चरणमा पुग्ने सम्भावना सकिएको हो । गत साता पहिलो खेलमा भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै अघि बढेको मछिन्द्रको यात्रा प्लेअफको फाइनलसम्म पुग्न सकेन ।

 

बुधबार अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउको गोल सान्तवना सावित भयो ।

 

११औं मिनेटमा ह्युगो बुमुसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट डाइभ दिँदै बचाए । खेलको ४०औं मिनेटमा मोहन बगानले अग्रता लियो । अनवर अलीले ह्युगोको कर्नरमा हेडरमार्फत गोल गरे ।

 

दोस्रो हाफमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सले गोल गर्दै मोहन बगानको अग्रता दोब्बर पारे । ५९औं मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै उनले गोलरक्षकलाई छलाउँदै खाली पोस्टमा गोल थपे ।

 

७८औं मिनेटमा मेसुके ओलोमोउले उत्कृष्ट गोल गर्दै मछिन्द्रको सम्भावना कायम राखेका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक गोलरक्षक विशाल केथलाई बिट गर्दै सिधै गोल भएको थियो ।

 

८५औं मिनेटमा अनवर अलीले दोस्रो गोल गर्दै घरेलु टोलीलाई पुन: २ गोलले अघि बढाए । डिमित्रीको फ्रिकिकमा अनवरले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए ।

 

अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ । आज भएको प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २-१ ले पराजित गरेको थियो ।