राजनीति

सांसद मन्सुरीको मतबाट कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

By admin

August 21, 2023

मोरङ । प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।

 

उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो । एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

 

मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरि प्रश्न उठेको छ । अब यसबारे फेरिअदालतमा मुद्दा पर्ने संभावना छ ।