शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रमका वक्ताहरुले ढाका कपडाको उत्पादनलाई संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।
अर्जुनधारा ८ स्थित श्री नारी चेतना समूहले आयोजना गरेको आत्मनिर्भरताका लागि ढाका बुनाई सीप विकास तीन महिने तालिमको समापनका अवसरमा अग्रज पत्रकार चन्द्र भण्डारीले आदिवासी जनजातिको परम्परागत कपडा उत्पादनको रुपमा रहेको ढाकाको संरक्षण गर्नुपर्ने बताए ।
ढाका बुन्ने परम्परा अग्र्यानिक आन्दोलनको रुप भएको बताउँदै उनले ढाकाको उत्पादन सभ्यतासँग जोडिएकाले यसको संरक्षण संघसंस्थाले मात्र नभएर स्थानीय सरकारले नै जोगाउनु पर्ने उल्लेख गरे ।
‘अर्जुनधारा नगरपालिकाले कार्यविधि बनाएर भए पनि यसको संरक्षण गर्नुपर्छ’, उनले भने, ‘नगरको विद्यालयमा कम्तिमा एउटा ढाकाको उत्पादनलाई अनिवार्य गर्नसके सीपको प्रवद्र्धनमात्र होइन, बजारसमेत खोज्नु पर्दैन ।’
आधुनिकको नाममा पोशाकमा विसंगति भित्रिएको भन्दै उनले मौलिक संस्कृतिमा रहेको ढाकाको संरक्षण गर्नसके पूख्र्यौलीको सम्मान पनि हुने बताए । ढाका उत्पादन आफ्नै भएकाले जगेर्ना गर्न उनको सुझाव थियो ।
समूहकी अध्यक्ष पम्फा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडा कार्यालयका अध्यक्ष कुमारप्रसाद उप्रेतीले प्रत्येक व्यक्तिले सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरे ।
सीप जुनसुकै विषयमा पनि हुने भएकाले कोही पनि अदक्ष भएर बस्नुभन्दा स-साना सीपलाई बजारसँग जोडेर निर्वाहमुखी बन्न आग्रह गरे । उनले स्थानीय सरकारले विभिन्न सीपमुलक तालिम गर्दै गरेको पनि सुनाए ।
समूहकी सहसचिव निर्मला राईले स्वागत गरेको कार्यक्रममा ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, ८ नम्बर वडाकी सदस्य सरु बुढाथोकी, जलेश्वर सिकाई केन्द्रकी अध्यक्ष पुनम सुवेदी, समूहकी निवर्तमान अध्यक्ष मिश्रकुमारी राई, लालीगुराँस महिला सहकारी संस्थाकी उपाध्यक्ष हिमा विष्ट, पत्रकार दिपिन राई, तालिमकी प्रशिक्षक कल्पना राईलगायतले आफ्ना भनाइ राखेका थिए । उनीहरुले तालिमपछि उत्पादनसँग जोड्न सके पनि बजारको अभाव रहेको सुनाए ।
टेवा नेपाल धापाखेल, ललितपुरको आर्थिक सहयोग र नारी चेतना समूहको आयोजनामा भएको तालिम सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च भएको समूहकी अध्यक्ष विश्वकर्माले जानकारी दिइन् । सहभागीलाई खाजा खर्चका लागि ८ नम्बर वडा कार्यालय सहयोग गरेको थियो ।
सहभागीका तर्फबाट अमिता लिम्बूले आफ्ना अनुभव प्रस्तुत गरेको कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै १० जनालाई १ लाख बराबरको १० थान ढाकाको कपडा बुन्ने तान प्रदान गरिएको छ ।
समूहले यसअघि दुई पटक ढाका बुनाई तालिम दिनुका साथै उद्घोषण तालिम पनि प्रदान गरिसकेको समूहकी सचिव पूर्णिमा सिटौलाले बताइन् । तालिममा अर्जुनधारा १, ७ र ८ नम्बर वडाका १५ जना महिला सहभागी थिए ।