बिर्तामोड । चार दिनअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य यतिबेला दोब्बरबढी बृद्धि भएको छ । शुक्रबार बिर्तामोडको कृषिथोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ रहेको थियो भने खुद्रा मूल्य ८० देखि सय रुपैयाँसम्म पुगेको छ ।
कृषिथोक बजारकी बजार निरीक्षक माया राजवंशीले शुक्रबार प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ र खुद्रा मूल्य ८० देखि सय रुपैयाँ रहेको जानकारी दिइन् । भारतले निर्यातमा ४० प्रतिशत कर लगाएपछि भदौ ५ गतेदेखि नेपाली बजारमा प्याजको भाउ बढेको हो ।
नेपालमा कम मात्रामा प्याज उत्पादन हुने र अधिकांश प्याज भारतबाट आउने भएकाले भारतले निर्यात कर लगाएपनि र मूल्यबृद्धि गरे पनि महँगो मूल्यमा नेपाली उपभोक्ता खरिद गर्न बाध्य भएका छन् ।
केही दिनअघि प्रतिकेजी १५-१६ भारतीय रुपैयाँ पर्ने प्याज अहिले भारतमा ३०-३१ रुपैयाँ पुगेको बिर्तामोडका व्यापारीहरु बताउँछन् । भारतको पटनाबाट प्याज आयात गर्दै आएका बिर्तामोडका लक्ष्मणकुमार शाहले भारतमा भएको मूल्यबृद्धि ,भारतीय सरकारले लगाएको ४० प्रतिशत निर्यात कर र नेपालको विभिन्न करले गर्दा प्याजको मूल्य अकासिएको बताए ।
उनले पटनामा रातो प्याज प्रतिकिलो ३३ रुपैयाँ पर्ने गरेको बताउँदै त्यसको ढुवानी खर्च प्रतिकिलो २ रुपैयाँसंगै ४० प्रतिशत निर्यात कर तिर्नु परिरहेको जानकारी दिए । त्यस्तै नेपालतर्फ ९ प्रतिशत भन्सार शुल्क, १३ प्रतिशत भ्याट र डेढ प्रतिशत एआइटी कर तिर्नु परेको उनले जानकारी दिए ।
भारतले लिन थालेको ४० प्रतिशत निर्यात कर घटाउन नेपाल सरकारले पहल गरिरहेकाले प्याजको मूल्य घट्नसक्ने अर्का व्यवसायी त्रिलोक शाहको अनुमान छ । कोरोना महामारीका बेला नेपालमा प्याज २ सय रुपैयाँ किलो पुगेको थियो ।