इलाम । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । उक्त भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ ।
गाउँमै विभिन्न रोगको उपचार पाएका स्थानीय गाउँपालिकाको कार्यको प्रशंसा गर्न थालेका छन् । गाउँपालिकाको आफ्नै भवनमा सञ्चालित अस्पतालबाट स्वास्थ्य बीमा सुविधासमेत सुरु भएपछि स्थानीयलाई सहज भएको हो । गाउँमा अस्पताल नहुँदा झापाका विभिन्न स्थानमा उपचारका लागि धाउनुपर्ने स्थानीयले गाउँमै अस्पताल सञ्चालनपछि धेरै राहत मिलेको बताएका छन् ।
चुलाचुलीका ३ का बाबुराम अधिकारीले गाउँमा अस्पताल नहुँदा दमकका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता भएको बताए । उनले दमक गएर अस्पतालमा पालो कुर्दै दिन जाने गरेकोमा अहिले सहज भएको सुनाए । अस्पतालमा बिशेषज्ञको सेवा सुरु भएपछि स्थानीयको भिड लाग्ने गरेको छ ।
दिनहुँ एक सयभन्दा बढी बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा नसर्ने रोगका बिरामी प्रेसर, सुगर, थाइराइड, मुटु जस्ता बिरामीको चाप रहेको चिकित्सकको भनाइ छ । डेंगुको समस्या गाउँमा देखा परेकाले ज्वरो र खोकीको समस्या लिएर धेरै बिरामी आउने गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने उद्देश्यले अस्पताल सुरु भएको हो । अहिले गाउँपालिकामा रहेको अस्पताल पाँच शय्याको छ । चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ ।
उक्त भवन सम्पन्न भएपछि सोही स्थानबाट सेवा सुरु गर्ने गाउँपालिकाको लक्ष्य छ । बाह्रगोठेमा निर्माण भएको आधारभूत अस्पताल पाँच करोड २० लाखको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।