समाज

बेतना सिमसारमा भेटियो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

By admin

August 26, 2023

बेलबारी। मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका हुन् ।

 

‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर’, वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए ।

 

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो ।

 

जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको छ ।

 

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य राईले जानकारी दिए ।

 

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् ।