समाज

झापामा वन फडानी तीब्र, एक महिनामा २२३६ क्युफिट बरामद

By admin

August 27, 2023

झापा । झापामा केही महिनायता वन फडानी तिब्ररुपमा बढेको छ । वर्षा मौसमको मौका छोपी चोरी तस्करी गर्नेहरुको समूह सक्रिय बनेको हो । गत असार ६ देखि साउन ३० गतेसम्म चोरी तस्करीका २ हजार २३६.४३ क्युफिट काठ बरामद भएको हो ।

 

यस अवधिमा जम्मा ३० वटा चोरी तस्करीका घटनामा त्यति ठूलो परिमाणमा काठ बरामद भएको हो । चोरी तस्करीमा संलग्न २२ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् । त्यस्तै चोरी तस्करीमा प्रयोग भएका २४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

 

जसमा ७ वटा ट्रयाक्टर, एउटा मोटरसाइकल, १३ वटा साइकल, एउटा बोलेरो, एउटा अटो र एउटा पिकअपलाई काठसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भद्रपुरकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । बरामद गरिएका काठ अधिकांश साल जातको रहेको छ ।

 

साल जातको गोलिया र चिरान काठसंगै मसला, सिसौ, कर्मा, टिक, आँप, छतिवन, कपोक र कदमको काठ चोरी तस्करी हुँदै गर्दा बरामद गरिएको सहायक वन अधिकृतसमेत रहेकी पुरीले बताइन् ।

 

सबैभन्दा धेरै दमक क्षेत्रमा चोरी तस्करी हुने गरेको छ । त्यसपछि मेचीनगर र सुरुङ्गा क्षेत्रमा हुने गरेको पाइएको छ । चोरी तस्करीका घटना जलथल जंगलमा पनि हुने गरेको घटनाक्रमले देखाएको छ ।

 

केही महिनायता वन पैदावार चोरी तस्करीका घटना बढेपछि वन कार्यालय र मातहतका कार्यालयहरुले गस्तीलाई तिब्रता दिँदा काठसहित मानिस पक्राउ परेको उनले जानकारी दिइन् ।