समाज

लक्ष्मीपुरका मिर्गौलापीडित प्रदीपलाई बचाइदिन परिवारको अपिल

By admin

August 27, 2023

झापा । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको दुवै मिर्गौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सबैमा अपिल गरेको छ ।

 

बितेकाे १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परीक्षणपछि दुवै मिर्गौला खराब भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए ।

 

श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’अभियानअन्तरगत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीका दाजु नारायण श्रेष्ठ, सचिवमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।

 

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । उनलाई मिर्गौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले दिने भएका छन् ।

 

तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सबैलाई अपिल गरेका हुन् । मिर्गौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिए ।

 

त्यस्तै आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिबार बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।

 

उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा ५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ (पिडि)मा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेरसम्म सहयोग गर्न सकिनेछ ।