समाज

इलाममा बेड अपुग भएपछि भुइँमै राखेर उपचार

By admin

August 29, 2023

इलाम । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुइँमै राखेर उपचार गर्न थालिएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुइँमै राखेर उपचार गरिरहेको जनाएको छ ।

 

अहिले दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । डेङ्गु, स्कपटाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको लुइँटेलले बताए । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू हुन्छ’, लुइँटेलले भने, ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुइँमै भए पनि उपचार गरिरहेका छौँ ।’

 

अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउनेगरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुइँमै राखेर पनि सेवा दिइएको छ’, व्यवस्थापक खतिवडाले भने, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो धान्नु परेको छ ।’

 

खतिवडाका अनुसार गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउनेमध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् ।

 

यति धेरै बिरामीको चाप रहे पनि उपचार गर्न आउनेलाई अन्यत्र रेफर भने गर्नु नपरेको जनाइएको छ । जिल्लामा अहिलेसम्म २०३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखापत्र अनलाइनबाट