समाज

झापामा खाल्डो र नहरमा डुबेर २ जनाको मृत्यु

By admin

August 30, 2023

बिर्तामोड । झापाको दुई छुट्टा छुट्टै स्थानमा खाल्डो र नहरमा डुबेर २ जनाको मृत्यु भएको छ । शिवसताक्षीका एक युवा र भद्रपुरकी एक बृद्धाको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर ३८ वर्षीय बिष्णुप्रसाद चिमरियाको मृत्यु भएको हो । गएराति ९ः१५ बजेको समयमा चिमरिया र सोही ठाउँका ४० वर्षिय अर्जुन मगर मादक पदार्थ सेवन गरी कन्काई सिंचाई आयोजनाको नहरको डिलमा बसेका थिए ।

 

चिमरिया डिलबाट नहरमा झरेको भनी उनका साथी मगरले अस्थायी प्रहरी चौकी माईधारमा खबर गर्नासाथ टोली खटिएको थियो । आज बिहान ७ः२० बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोली र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा नहरमा झरेको घट्नास्थलबाट अन्दाजी ७ किलोमिटर दक्षिण नहरभित्र घोप्टो परी ढुङ्गामा अड्केको अवस्थामा उनको शव फेला परेको हो ।

 

यसैगरी, भद्रपुरमा पानीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० निवासी ७३ वर्षीया शिवकुमारी ढकाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

बुधबार बिहान भद्रपुर १० स्थित केन्द्रमोड नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर वृद्धा ढकालको मृत्यु भएको थियो । डुबेको अवस्थामा बृद्धाको मृत फेला परेको सूचना पाएलगतै प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।