समाज

मोटरसाइकल दुर्घटनामा जेसिका सिग्देल र सागर घिमिरेको मृत्यु

By admin

August 31, 2023

झापा । झापामा एकैदिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा बाह्रदशी गाउँपालिका ५ निवासी १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी १० स्थित कनकाई पुलमा बुधबार साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

 

दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएकी थिइन् । घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको थियो ।

 

यसैगरी, बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ५ निवासी २६ वर्षीय सागर घिमिरे रहेका छन् ।

 

पूर्व-पश्चिम राजमार्गअन्तगत बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा ५५६८ नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृतक घोषित गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।

 

५१४० नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका १० निवासी २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।