समाज

बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी

By admin

September 03, 2023

बिर्तामोड । झापाको बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी थालिएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो ।

 

धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही अवसरमा श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्रीकृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा गरिने शनिबार सांझ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

 

भगवान श्रीकृष्णको जन्मोत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्रा गरिने र रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री बालाजी मन्दिर समितिका अध्यक्ष नबिन गोयलले जानकारी दिए । अध्यक्ष गोयलका अनुसार भदौ २१ गते बिहान १० बजे विशेष पूजाअर्चना गरिने र ११ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुनेछ ।

 

त्यस्तै सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भइ दुबै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरेरोडमा भेट हुने र त्यसपछि बिर्तामोड बजार परिक्रमा गर्ने अध्यक्ष गोयलले जानकारी दिए ।

 

दुबै रथयात्रा बिर्तामोडस्थित मुक्तिचोक-इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक-भद्रपुर बस स्टेण्ड-मुक्तिचोक र अधुवाखोला पुलहुँदै फेरि मुक्तिचोक भएर मन्दिरमा आएर समापन हुने सतगुरु श्री देवचन्द्र सदन युवा परिषद प्रास अध्यक्ष बिदुर खनालले जानकारी दिए ।

 

सदगुरु सदनले अघिल्लो वर्ष पनि रथयात्रा निकालेको थियो । यस पटक भने बालाजी मन्दिरसंग सहकार्य गरेर संयुक्तरुपमा निकाल्ने निर्णय भएको उनले बताए ।

 

शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणका लागि यसपटक संयुक्तरुपमा रथयात्रा गर्न लागिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ । रथयात्रालाई सभ्य र भब्य बनाउनका लागि रथयात्रा समन्वय तथा ब्यवस्थापन समिति समेत गठन भएको जनाइएको छ ।