समाज

खुदुनाबारीमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना

By admin

September 04, 2023

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका ३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

 

नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किशोर अवस्थाका विद्यार्थीलाई लक्षित गरेर अभिमुखिकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २५० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

 

सचेतना कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ताहरु कृष्ण गौतम र उत्सव ढकालले सहजिकरण गरेका थिए ।

 

कार्यक्रममा लागुपदार्थ, त्यसको प्रयोग, प्रयोगपछिको असर र कारोबारविरुद्धमा लागु हुने कानुन लगायतका विषयमा विद्यार्थीहरुलाई प्रनाउ कार्कीले जानकारी गराएका थिए भने पूर्वप्रयोगकर्ता एवं अभियान्ता ढकालले लागुपदार्थको प्रयोगबाट आफूले भोग्नुपरेको समस्या, जीवनमा पर्ने त्यसको असरलगायतका विषयलाई समेटेर अनुभव सुनाएका थिए ।

 

सहयात्रा ग्रुप नेपालका अध्यक्ष तथा संचारकर्मी तिलक योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाध्यक्ष सिताराम भट्टराई र विद्यालयका प्रध्यानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राखेका थिए ।

 

नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका सदस्य राजु खड्काले स्वागत र सचिव मदन भट्टराईले सञ्चालन गरेका थिए ।

 

सोही कार्यक्रममा रेडक्रसले विद्यालयका ६१ जना विद्यार्थीलाई कपी, पेनलगायतका शैक्षिक सामग्री र कक्षा कोठामा आवश्यक पर्ने सरसफाई सामग्री प्रदान गरेको थियो । कार्यक्रममा उत्कृष्ट २ जना शिक्षक र एकजना विद्यालयका कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।