खेलकुद

ताप्लेजुङ गोल्डकप: उपाधि भिडन्तमा आज इलाम र इटहरी भिड्दै

By admin

September 06, 2023

फुङलिङ । रेड हर्ष फुटबल क्लब, इलाम यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा रेड हर्षले रेड स्टार फुटबल क्लब, झापालाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

 

श्री भानुजन माविको खेल मैदानमा भएको खेलको निर्धारित समयमा रोमाञ्चक १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिनुपरेको थियो ।

 

रेड हर्षका लागि खेलको १५औं मिनेटमा आशिष राईले शुरुवाती गोल गरेता पनि दोस्रो हाफको ३७औं मिनेटमा अब्दुलले रेड स्टारका लागि बराबरी गोल फर्काएका थिए ।

 

टाइब्रेकरमा भने रेड हर्षले रेड स्टारमाथि ५-४ को जित निकाल्दै फाइनलमा स्थान तय गर्न सफल भयो । खेलमा रेड हर्षका गोलरक्षक विवेक मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कारवापत नगद ५ हजार र मेडल हात पारे ।

 

प्रतियोगिता अन्तरगत आज बुधबार रेड हर्ष फुटबल क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी उपाधिका लागि भिड्ने छन् । मोरङको पथरी एफसीलाई टाइब्रेकरमा पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकाडेमी फाइनलमा प्रवेश गरेको थियो ।

 

लाखेजात्रा संचालन समिति ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।