शनिश्चरे । सबै उमेर समूहबाट प्रतिस्पर्धामा सहभागी हुने ११औँ कोरियन एम्बास्डर आपेन तेक्वान्दो च्याम्पियनसिपमा झापा अर्जुनधाराका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौँको सातदोबाटोमा भदौ २७ देखि हुने प्रतियोगितामा अर्जुनधारा नगरमा रहेका खेलाडीमध्ये छनोट भएका एक महिलासहित ७ जनाले प्रतिस्पर्धा गर्ने अर्जुनधारा नगर तेक्वान्दो विकास समितिका अध्यक्ष तथा प्रशिक्षक दिपेन्द्र दनुवारले बताए ।
अर्जुनधारा नगरपालिकाबाट सूर्यज्योति तेक्वान्दो डोजाङबाट उनीहरुले संस्थागतरुपमा सहभागिता जनाउने भएका हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर बन्न सक्ने सम्भावना रहेको झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुमार भट्टराईले बताए ।
उनका अनुसार खेलाडीलाई वृत्ति विकासका लागि यो प्रतियोगिता ठुलो अवसर रहेको छ । तर, संस्थागतरुपमा सहभागिता जनाउन लागेका खेलाडीको आतेजातेमा आर्थिक अभाव रहेको पनि उनले सुनाए ।
उनले प्रतिस्पर्धामा जानका लागि नगरपालिकामा पनि प्रस्ताव पेश गरिए पनि कुनै सुनुवाई नभएको गुनासो गरे । यसका लागि उनले सम्पूर्णमा आर्थिक सहयोगको अपिल पनि गरेका छन् ।
प्रशिक्षक धिमालका अनुसार खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराएर ल्याउनका लागि करिब २ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । ७ जना खेलाडीसँगै प्रशिक्षक दनुवार र व्यवस्थापक अजय गुप्ता काठमाडौँ जानेछन् ।
छनोट भएका खेलाडीहरुमा राजकुमार दर्जी, आदर्श निरौला, सबिक श्रेष्ठ, सेमुहाङ्मा सम्बाहाम्फे, प्रदिप विश्वकर्मा, मनिष सार्की र प्रितु राई रहेका छन् । उनीहरुले पुम्से र ग्यारोगी विधामा प्रतिस्पर्धा गर्नेछन् । अहिले खेलाडीहरु १५ दिनको बन्द प्रशिक्षणमा रहेका छन् ।