खेलकुद

इलामको रेडहर्ष बन्याे ताप्लेजुङ गोल्डकप च्याम्पियन

By admin

September 06, 2023

फुङलिङ । रेड हर्ष फुटबल क्लब इलामले यहाँ आयोजित प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा इटहरीको जुट विकास खेलकुद एकाडेमीलाई पराजित गरी इलामले उपाधि रक्षा गरेको हो ।

 

श्री भानुजन माविको खेल मैदानमा भएको खेलमा इलामका लागि शरण बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३१औँ मिनेटमा पाएको फ्रिकिकमा इलामले अग्रता लिएको थियो । खेल अवधिभर बाँकी कुनै गोल भएन ।

 

खेलको म्यान अफ दी म्याच पनि इलामकै शरण बस्नेत भए । उनले नगद ५ हजार पाएका छन् । यस्तै, इलामकै गोलरक्षक विवेक मगर उत्कृष्ट बन्दै नगद ७ हजार पाउन सफल भए ।

 

इलामका छिरिङ गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै नगद १० हजार र ट्रफी पाउँदा इलामकै आशिष राई सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक छिरिङ पासाङ शेर्पा भए । उनीहरुले जनही नगद ७ हजार पाए । यसैगरी, इटहरीका रोहन कार्की बेस्ट मिडफिल्डर र इटहरीकै रमेश राजवंशी बेस्ट डिफेन्स बन्दै जनही नगद ७ हजार पाउन सफल भए ।

 

च्याम्पियन बनेको इलामको रेड हर्ष एफसीले नगद ३ लाख ११ हजारसहित ट्रफी पायो भने उपविजेता बनेको इटहरीले नगद १ लाख ५१ हजार र ट्रफीमा चित्त बुझाएको छ । विजेता तथा उपविजेतालाई प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।