अर्थ बजार

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

By admin

September 07, 2023

इलाम । देशकै पहिलो टी टेस्टिङसहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो ।

 

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको टी टेस्टिङ सेन्टरसहितको अनुसन्धान केन्द्रको निर्माण १३ करोड ६५ लाख रुपियाँको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए । उनका अनुसार दुई चरणमा गरेर निर्माण कार्य सम्पन्न भएको हो ।

 

अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रक्रियामा छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आव २०८०/८१ मै टी टेस्टिङसहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।

 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले उक्त स्थानमा चिया सङ्ग्रहालय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेस्ट हाउस र सभा हल रहेको जानकारी दिए । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेस्ट हाउससमेत सञ्चालन गर्नेछ ।