पशुपतिनगर । इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
दलालले सीमाना कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सिमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपालसहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए ।
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला, बैतडी र अछामका एक एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । उनले राति आठ बजेको समयमा सिमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सिलिगडी लैजान लागेको खुलेको थियो ।
उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् । प्रजिअ पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्ग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ ।
इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन् ।
माइती नेपाल पशुपतिनगरका प्रमुख ढकालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ । दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ ।