समाज

सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ

By admin

September 10, 2023

झापा । सुनसरीको बर्जु गाउँपालिका १ स्थित शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

उनीहरूलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सुनसरीको दुहवी ४ का ३२ वर्षीय नसुदिन मिया र दुहवी १ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा रहेका छन् ।

 

यसैगरी, १४ वर्षीय बालक, बूढीगंगा गाउँपालिका ४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम, बूढीगंगा ५ का २१ वर्षीय मोहमद नजरुल मिया र सुनसरी दुहवी ६ बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम रहेका छन्।

 

पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेको गिरोहबाट ठूलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, १ लाख ७५ हजारभन्दा बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको झुम्का र तिलहरी, चाँदीको पाउजु र सिक्रीलगायतका विभिन्न सामान बरामद भएको छ।

 

चोरी नियन्त्रणका लागि सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीमाथि बर्जु १ मा शुक्रबार यो गिरोहले आक्रमण गरी हतियार लुटेको थियो। पक्राउ परेकाविरुद्ध डाका, हातहतियार खरखजाना र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।