अर्थ बजार

अलैँचीको मूल्य दोब्बर वृद्धि, किसान उत्साहित

By admin

September 10, 2023

ताप्लेजुङ । गत वर्षभन्दा यसवर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

 

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलो) ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गतवर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

 

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ हजारदेखि ५६ हजारसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गतवर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजारमात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।

 

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजारमा कारोबार भएको उनले जानकारी दिए ।

 

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

 

यसवर्ष अलैँची उत्पादनमा भने गिरावट आउने अनुमान छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।

 

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ ।