राजनीति

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

By admin

September 12, 2023

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

 

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

 

एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

 

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।

 

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।