झापा । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । यसक्रममा थप एक जनाको मृत्यु भएको छ । यो सँगै झापामा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
बिर्तामोड नगरपालिका वडा नं ५ मा डेंगी संक्रमणबाट एक जना महिलाको मृत्यु भएको हो । आफ्नो घरमा बहालमा बस्ने भारत घर भएकी करिव ३५ वर्षीया महिलाको हिजो मृत्यु भएको बिर्तामोड ५ निवासी एबीसी नेपालकी अध्यक्ष कन्चना ढकालले बताइन् ।
चार दिनअघि ती महिलालाई ज्वरो आएपछि कंचनजंघा हस्पिटल लगिएको थियो । त्यहाँ उनलाई डेंगी संक्रमण पुष्टि भएको थियो । कंचनजंघा हस्पिटलमा उपचार संभव नभएपछि हिजो भारतको सिलिगुडी लैजाँदै गर्दा उनको मृत्यु भएको ढकालले जानकारी दिइन् ।
सो घटनाबारे बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरिसकेको छैन । योसहित बिर्तामोड ५ मा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ भने झापामा ६ पुगेको छ । साउनमा तीन र भदौमा तीन जनाको मृत्यु भएको हो ।
झापामा डेंगी संक्रमण दर उच्च झापामा डेंगी संक्रमितको दर उच्च रहेको छ । अहिलेसम्म संक्रमितको संख्या २ हजार ४३९ पुगेको छ । ७ हजार ३८ जनाको परीक्षण गर्दा त्यतिजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका तथ्यांक अधिकृत चुडामणि लुईटेलले बताए ।
उनका अनुसार ११९ जना डेंगी संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । भदौ १ देखि आज २७ गतेसम्म १ हजार १२३ जना संक्रमित भएका छन् । जुन दर दिनको ४१ जना हुन आउँछ । जिल्लाका केही पालिकाहरुले विषादी छर्किने कार्य गरिरहे पनि जिल्लाका शहरी क्षेत्रमा डेंगी संक्रमण बढ्दो छ ।