समाज

इनरुवामा दाइजोको निहुँमा पत्नीको हत्या, पति पक्राउ

By admin

September 19, 2023

विराटनगर । पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ ।

 

भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर विवाह गरेका थिए ।

 

उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

 

घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने रेग्मीको भनाइ छ । शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको थियो ।

 

निकिताको ११ महिनाको छोरो छन् । त्यो नाती हेर्न उनकी आमा सरिताले गत शनिबार राति साढे नौ बजे भिडियोकलमा कुरा गरेकी थिइन् । भिडियोकलमा कुरा गर्दा निकिताले ज्वाईंसँग दाइजोको निहुँमा आफ्नो झगडा भइरहेको सुनाउँदै आइतबार बिहान माइत आउने बताएकी थिइन् ।

 

शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकिताको उपचारका लागि इनरुवा अस्पतालमा लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो ।

 

त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल ल्याएका थिए । स्थानीयका अनुसार शिक्षण अस्पताल ल्याएको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए । इकान्तिपुरबाट