समाज

विराटनगरका चिकित्सक दम्पतीले पाए झाडीमा भेटिएका शिशुको अभिभावकत्व

By admin

September 19, 2023

झापा । भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीले पाएका छन् । भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरुको निवेदनउपर छलफल गरी विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो ।

 

अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन दिएका थिए । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ, भद्रपुर १ का पर्शुराम लुइटेल र इश्वरादेवी बिमली, अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएका थिए ।

 

नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो । हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दावी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो ।

 

गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं ७ को चन्द्रगढीहुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए ।

 

ती शिशुलाई अभिभावकत्व लिन डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायी, राजनीतिकर्मीलगायत करिब सयजना इच्छुक देखिए पनि पाँच दम्पतीले मात्र सूचीकृत गरेका थिए ।