समाज

पूर्वी क्षेत्रमा बिहानैदेखि वर्षा, अझै पानी पर्ने सम्भावना

By admin

September 21, 2023

बिर्तामोड । झापा, मोरङ, सुनसरी, इलाम लगायत पूर्वी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

 

उनका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पूर्वी क्षेत्रमा धेरै परेको छ । यसकै कारण बिहानैदेखि त्यस क्षेत्रमा पानी परिरहेको उनले बताए ।

 

आज अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यी क्षेत्रमा दिउँसोपछि र रातिको समयमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद् झाको आग्रह छ ।

 

पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।