समाज

महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता हुँदै

By admin

September 23, 2023

दमक । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

 

मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारी दिव्या न्यौपानेविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा चलाउने तयारी गरेको हो ।

 

उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच वर्षसम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ । शनिबार विदा भएकाले आइतबार उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिने प्रहरी स्रोतले जनाएको छ ।

 

मृतक राउतको परिवारले महिला कर्मचारी न्यौपानेविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । बिहीबार अपरान्ह दमक ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको एक कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइड नोटका आधारमा परिवारले शुक्रबार बिहान किटानी जाहेरी दिएका हुन् ।

 

सुसाइड नोटमा ती महिलाले आफूलाई ट्रयापमा पारेको मृतक राउतले लेखेका छन् । कर्मचारी न्यौपानेले आफूबाट निकै फाइदा लिएको, स्कुटी, सुन, कपडालगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको राउतले सुसाइड नोटमा उल्लेख गरेको जनाइएको छ ।

 

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले सो घटनामा मृतक परिवारका तर्फबाट परेको किटानी जाहेरी परेको जनाउँदै आत्महत्या दुरुत्साहनको आरोपमा ती महिलामाथि थप अनुसन्धान अघि बढाइने जानकारी दिए ।

 

३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्कबाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।