खेलकुद

यू-१९ साफः सानदार जितसँगै नेपाल सेमिफाइनलमा

By admin

September 25, 2023

काठमाडौं । नेपाल यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 

पहिलो हाफमै २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७औं मिनेटमा प्रशान्त लक्समले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । डिबक्सभन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

 

समिर तामाङले ३०औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ५८औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर, खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

 

दोस्रो हाफको इन्जुरी समयमा समिरले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । बराबरीको नतिजाले मात्र माल्दिभ्स अन्तिम चारमा पुग्न सक्थयो ।

 

तर, नेपालले आफू अनुकूलको जितसहित समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ । माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ । समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझ नै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ ।

 

समूह ए मा पाकिस्तान ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रह्यो । माल्दिभ्स १ अंकका साथ पुछारमा रहेर बाहिरियो ।