झापा । तीर्थयात्री लिएर पाथीभरा जाँदै गरेको बोलेरो आज बिहान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते हुनेमा ताप्लेजुङ र झापाका रहेका छन् ।
बिहान ४ः३० बजेको समयमा ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका ३ बिजेपास्थित भित्री सडक खण्डमा तिरिङ्गेबाट पाथीभरा दर्शनको लागि जाँदै गरेको मे १ ज २१८६ नम्वरको बोलेरो सडकबाट अन्दाजी ७० मिटर तल झरी दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुजल मुदेलले बताए । घाइते हुनेहरुमा चालकसहितका १२ जना ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिका ३ तिरिङ्गेका र एक जना झपा बाह्रदशीका रहेका छन् ।
दुर्घटनामा बाह्रदशी २ बस्ने ४१ वर्षीय कर्णबहादुर कार्की घाइते भएका छन् । त्यस्तै दुर्घटनामा बोलेरो चालक ताप्लेजुङ तिरिङ्गे बस्ने २१ वर्षीय भक्त कार्की, ७० वर्षीय धनबहादुर डाँगी, ६२ वर्षीया फुलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, अन्दाजी २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया बिमला डाँगी बस्नेत, ६ वर्षीया युनिसा बस्नेत, ४ वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत र ३८ वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् ।
घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर ओम थापा मगरले जानकारी दिए ।