समाज

अर्जुनधाराका भूमिहीनलाई धनीपुर्जा बाँड्न थालियो

By admin

September 27, 2023

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट जग्गाको धनीपुर्जा बाँड्न सुरु गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाले सभामुख देवराज घिमिरेको बाहुलीबाट बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । उनका अनुसार वडा नं ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण गरिएको हो ।

 

यसअघि नगरपालिकाले वडा नं १, ५ र ११ का भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको थियो । नगर प्रमुख गोम्देनका अनुसार २ हजार १७९ जनालाई निस्सा वितरण गरिएको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले नागरिकको मौलिक हक सुनिश्चितताका लागि सबै तहका सरकार जिम्मेवार भएको बताए । उनले नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सन्दर्भमा आफ्नो तहबाट पनि जिम्मेवार ढंगबाट लागिपर्ने जानकारी दिए ।

 

अर्जुनधारा २, ६, ७ र ८ मा निस्सा वितरणको अन्तिम तयारी गरिएको प्रमुख गोम्देनले जानकारी दिएका छन् । नगरमा अव्यवस्थित बसोबासीका रुपमा ७ हजार ६ सय, भूमिहीन दलित २ सय र भूमिहीन सुकुम्बासी १ हजार २ सय जनाले धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

 

धनीपुर्जा वितरण कार्यक्रममा पूर्व मन्त्री केशव कुमार बुढाथोकी, पूर्व प्रदेश सदस्य बिर्ख प्रधान, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको उपस्थिति रहेको थियो । नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेका थिए ।