शनिश्चरे । खेलाडी उत्पादन र लागुऔषध दुव्र्यसनविरुद्ध झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय लक्ष्मीधाप स्पोर्टस् क्लबको आयोजनामा हुने प्रतियोगितामा ८ वटा टिमले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।
प्रतियोगिता असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म लक्ष्मीधाप खेलमैदानमा हुनेछ । लक्ष्मीधाप खेलमैदान नेपाली फुटबलका अन्तर्राष्ट्रिय खेलाडी बिशाल राई बीको घरेलु मैदान हो ।
उनका अनुसार आयोजक क्लबसँगै शनिश्चरे एफसी, बिर्तामोड युनाइटेड, न्यू स्टार क्लब, ब्रदर्स युनाइटे चन्द्रगढी, काँकरभिट्टा ट्रेनिङ सेन्टर, जलथल एफसी र सताक्षीधाम स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख ४१ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक टेकराज तिलिङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि उनले बताए ।
उनका अनुसार विजेताले नगद ५१ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ३१ हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने संयोजक तिलिङले बताए ।
यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद २ हजार ५ सय पाउने क्लबका सचिव रुद्रप्रसाद दर्जीले बताए ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।