समाज

दमकमा पाठेघर मुखको र स्तन क्यान्सर परीक्षण निःशुल्क

By admin

September 30, 2023

दमक । झापाको दमक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर तथा स्तन परीक्षण पूर्णरुपमा निःशुल्क गर्ने कार्यलाई पुनः सुचारु गर्ने भएको छ ।

 

विराट टिचिङ अस्पताल, विराटनगरबाट आएकी विशेषज्ञ डा अस्मिता रायमाझीसहितको स्वास्थ्यकर्मीहरूसँग यस विषयमा छलफल भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताइन् ।

 

पाठेघरको मुख र स्तन क्यान्सर समस्या यहाँका महिलाहरूमा बढी मात्रामा देखिने गरेकाले सरकारी दमक अस्पतालसँगको समन्वयमा यसको जाँच सेवा सुचारु गर्न लागिएको जानकारी उनले दिएकी छन् ।

 

जाँचको सुविधा हप्तामा एक दिन र विशेषज्ञ सेवा महिनामा एक दिन गर्ने गरी निर्णय गरेको भट्टराईले बताइन् । जाँचको क्रममा क्यान्सर देखिएमा त्यस्ता बिरामीलाई सहज तवरले सर्वसुलभ ढङ्गबाट उपचार गराउन आवश्यक सहजीकरण दमक नगरपालिका स्वास्थ्य शाखाले गर्ने पनि जानकारी गराइएको छ ।

 

दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार प्रत्येक वार्डमा स्वास्थ्य शिविरको आयोजना गरेर स्तन र पाठेघरको क्यान्सको खोज पड्ताल गर्ने कार्य पनि भइरहेको छ ।