खेलकुद

मानेभञ्ज्याङ गोल्डकपमा धरानको हार, जलपाइगुडी क्वाटरफाइनलमा

By admin

October 02, 2023

भारत । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३-१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।

 

जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

 

प्रतियोगिताको दोश्रो प्रि-क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलाम र चाँद एफसी तीनधारेबीच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ (असोज २८) गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार) प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षदेखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल-भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।