अर्थ बजार

दसैँको मुखमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले बाँड्यो इन्डक्सन चुल्हो

By admin

October 03, 2023

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले विद्युतीय चुल्हो (इन्डक्सन) वडाबासीलाई वितरण गरेको छ । दसैँको मुखमा इन्डक्सन चुल्हो वडा कार्यालयले वितरण गरेपछि वडाबासी हर्षित छन् ।

 

नगरपालिकाले उपलब्ध गराएको २९ वटा र वडा कार्यालयकै बजेटबाट खरिद गरिएका १७ थान इन्डक्सन चुल्हो वितरण गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले वडालाई उपलब्ध गराएको २९ थान र वडा कार्यालयले खरिद गरेको १७ थान इन्डक्सन चुल्हो वितरण गरिएको हो ।

 

वडा कार्यालयले इन्डक्सन चुल्हो वितरणका लागि माग निवेदन आह्वान गरेको थियो । सोही माग निवेदनअनुसार नै कसैलाई नछुटाइ इन्डक्सन चुल्हो वितरण गरिएको हो ।

 

१७ जनाको बढी संख्या माग निवेदन परेकाले वडाले खरिद गरेको उनको भनाइ छ । वडाबाट यसअघि कुनै किसिमको अनुदान नपाएका व्यक्तिलाई चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष उप्रेतीले सुनाए ।

 

यसैबीच, वडाबाट पाएको अनुदानको चुल्हो बिक्री गरेको पाइएमा त्यस्ता व्यक्तिलाई वडाले अन्य कुनै पनि सुविधा नदिने भएको छ । चुल्हो पाउने वडाबासीले लागत सहभागितावापत ५ सय रुपैयाँ बुझाएका छन् ।

 

वडाबासीलाई एकैपटक वितरण नगरिए पनि माग र आवश्यकताअनुसार वडा कार्यालयले फेरि इन्डक्सन चुल्हो वितरण गर्ने वडाध्यक्ष उप्रेतीले बताएका छन् । वडा सदस्यहरू ऋषिप्रसाद घिमिरे, जानुका रसाइली, सरू बढाथाेकी र मनाेज रैका थापामगरले इन्डक्सन चुल्हाे वितरण गरेका थिए ।