झापा । अरिंगालले टोकेर झापाको बाह्रदशी ५ मा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी ५ नवकिरण टोलकी करिब ६० वर्षिया रामप्यारी भुर्तेलको मृत्यु भएको हो ।
हिजो साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेलमाथि अरिंगालको पूरै गोला खनिएको थियो । घाइते भुर्तेललाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको बाह्रदशी ५ का वडा सदस्य जय तिम्सिनाले बताए ।
वडा सदस्य तिम्सिनाका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र करिब ७ वर्षीय नाति घाइते भएका छन् । उनीहरुको घरमै उपचार गरिएको वडा सदस्य तिम्सिनाले जानकारी दिए ।