समाज

झापाको शनिश्चरे दिनभर तनावग्रस्त !

By admin

October 12, 2023

शनिश्चरे । झापाको पुरानो बजार शनिश्चरे बिहीबार दिनभर तनावग्रस्त बन्यो । आन्दोलनरत पहिचानवादी समूहलाई रोक्न बाक्लो सुरक्षाकर्मी परिचालन गरेपछि स्थानीयबासीमा तनाव सिर्जना भएको थियो ।

 

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत एक कार्यक्रममा आउने निश्चित भएसँगै आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

 

एमाले नेता बस्नेतविरुद्ध पहिचानवादीहरुको प्रदर्शनसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईको समर्थकले पनि केही गतिविधि गर्ने संकेत पाएर बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 

पहिचानवादीहरुको समूह अर्जुनधारा ८ स्थित शनिश्चरे बजारको देवकोटा चोकमा केन्द्रित थियो भने बजारका मुख्या नाकाहरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तैनाथ गरिएको थियो ।

 

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न आएका एमाले नेता बस्नेतलाई अवरोध गर्न आइरहँदा पहिचानवादीहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए ।

 

एक समूहले कार्यक्रम स्थलदेखि पश्चिम दक्षिणतर्फबाट प्रहरीमाथि ढुंगामुढा गरिरहँदा सुरक्षाकर्मीले रोकेका थिए । यस्तै, दुर्गा प्रसाई समर्थकले ८ नम्बर वडा कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

 

प्रसाईको समर्थकको समूहमा महिलाहरुले अगुवा गर्दै प्रहरीको घेरा तोड्ने प्रयास गरेका थिए । उनीहरुले जबरजस्ती गर्दा प्रहरीसँग सामान्य घम्साघम्सी पनि भएको थियो ।

 

उता एमाले नेता बस्नेतले कडा सुरक्षा घेराभित्र सम्बोधन गरिरहँदा कार्यक्रम स्थलदेखि करिब ५ मिटर दक्षिणतर्फ शनिश्चरे जयपुर सडकमा पार्किङ गरिराखेको नेता कार्यकर्ताको चार चक्के र मोटरसाइकलमा तोडफोड भएको थियो ।

 

प्रहरीका अनुसार कम्तिमा पनि ४ वटा मोटरसाइकल र १८ वटा चार चक्के सवारीसाधनमा ढुंगा प्रहार गरी क्षति पुराइएको छ । तोडफोडपछि युवा संघका कार्यकर्ता आक्रोसित बनेका छन् ।

 

पार्किङ गरिराखिएका गाडी कसले तोडफोड गर्यो भन्नेबारे प्रहरीले केही खुलाउन सकेको छैन । गाडी तोडफोडलाई युवा संघले कायरताको संज्ञा दिएको छ ।