खेलकुद

पूर्वराष्ट्रिय खेलाडी ज्ञानु मगरलाई गृहनगरमा सम्मान

By admin

October 13, 2023

शनिश्चरे । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी ज्ञानु थापामगरलाई गृहनगर झापा अर्जुनधारामा स्वागत सम्मान गरिएको छ ।

 

भर्खरै बेल्जियमबाट नेपाल आइपुगेका मगरलाई अर्जुनधारा ७ मा शनिश्चरे फुटबल क्लबले स्वागत सम्मान गरेको हो । बेल्जियममा सपरिवार बस्दै आएका मगर युरो नेपाल स्पोर्टस एशोसिएशनका अध्यक्ष हुन् ।

 

बेल्जियममा रहेर फुटबल क्षेत्रमै लागिपरेका मगरले शनिश्चरे एफसीलाई सहयोग गर्दै आएका छन् । उनलाई एफसीका अध्यक्ष सुमन गिरी, सचिव हरि गुरुङ, राष्ट्रिय खेलाडी देवेन्द्र तामाङलगायतले विशेष धन्यवादसहित स्वागत सम्मान गरेका थिए ।

 

पूर्व राष्ट्रिय खेलाडी मित्रसेन भट्टराईको निवासमा आयोजित एक अनौपचारिक कार्यक्रममा मगरले शनिश्चरे एफसीलाई बल र जर्सी प्रदान गरेका थिए । मगर अहिले परिवारसहित नेपालमा छन् ।

 

कार्यक्रममा उनले आफ्ना भोगाइलगायत फुटबल जीवनका अनुभव सुनाएका थिए । यस्तै, पूर्व राष्ट्रिय खेलाडी भट्टराई, दिपेन्द्र ढकाल, रोहित श्रेष्ठ, प्रकाश बुढाथोकी, दाजु लाेकबहादुर मगरलगायतले पनि शनिश्चरे एफसीका खेलाडीसमक्ष आफ्ना अनुभव बाँडेका थिए ।

 

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’को पहलमा भएको भेटघाट कार्यक्रममा मायाको चिनो साटासाट गरिएको थियो । मगरको परिवारले तत्कालिन सिनियर तथा जुनियर खेलाडीलाई खदाले सम्मान गरेको थियो ।

 

लामो समय नेपाल पुलिस क्लबमा आवद्ध रहेका मगर झापाबाट अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी भएको संघका अध्यक्ष ‘मामा’ले जानकारी गराए ।