समाज

अक्सिजनमा आत्मनिर्भर बन्दै इलाम अस्पताल

By admin

October 13, 2023

इलाम । इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजनभन्दा बढी उत्पादन गरिँदै आएको छ ।

 

कोभिड १९ को सङ्क्रमणका कारण अक्सिजन अभाव भएपछि कोशी प्रदेश सरकारको सहयोगमा एक वर्षअघि स्थापना गरिएको अक्सिजन प्लान्टले अस्पतालसहित बाहिरको आवश्यकता पनि पूरा गर्न थालेको अस्पतालले जनाएको छ ।

 

प्लान्टमा एक हजार लिटरको ट्याङ्की जडान गरिएको छ । अहिले दैनिकजसो आवश्यकताअनुसार अक्सिजन उत्पादन भइरहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।अस्पतालले अस्पतालमै आएका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने गरेको छ ।

 

‘अस्पतालको इमरजेन्सीमा दैनिक अक्सिजन आवश्यक पर्छ, हामीले सिलिन्डर र बेडसम्म जडान गरिएका पाइपबाट अक्सिजन प्रयोग गरिरहेका छौं’, खतिवडाले भने, ‘अस्पतालभन्दा बाहिरबाट पनि सिलिन्डरहरु आएमा भरेर दिने गरेका छौं ।’

 

यस्तै, एम्बुलेन्समा रहेका सिलिन्डरमा पनि अक्सिजन उपलब्ध गराउने गरेको खतिवडाले बताए । बाहिरबाट आएका सिलिन्डरमा भने शुल्क लिएर भर्ने गरेको जनाइएको छ ।

 

‘पहिला झापाबाटै अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । अस्पतलामै प्लान्ट सुरु भएपछि अस्पताल र विरामीलाई सहज भएको छ,’ व्यवस्थापक खतिवडाले थपे । प्रदेश सरकारको एक करोड २७ लाख रुपियाँको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको जनाइएको छ । गाेरखापत्रबाट