समाज

शनिश्चरेमा बन्यो प्रदेशकै नमुना सार्वजनिक शौचालय !

By admin

October 15, 2023

शनिश्चरे । झापाको पुरानो बजार शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा आइतबारदेखि शौचालय सञ्चालनमा आएको हो ।

 

वर्षौंदेखि सार्वजनिक शौचालयविहीन अवस्थामा रहेको शनिश्चरेमा सुविधायुक्त आधुनिक शौचालय सञ्चालमा ल्याइएको हो । यस शौचालय प्रदेशकै नमुना शौचालय भएको दाबी गरिएको छ ।

 

शौचालयमा महिला र पुरुषलाई शौचालयसँगै नुहाउनका लागि चिसो तातो पानीका लागि गिजरको व्यवस्था, ह्याण्ड ड्रायर, कमट र प्यान, बालमैत्री तथा अपांगमैत्री निर्माण गरिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।

 

उनका अनुसार महिलाका लागि सेनेटरी प्याडको व्यवस्था पनि शौचालयभित्रै गरिएको छ । ‘अन्य स्थानका शौचालयमा नुहाउने व्यवस्था भए पनि बाल र अपांगमैत्री छैन’, उनले भने, ‘सेनेटरी प्याड, ह्याण्ड ड्रायर र गिजरको व्यवस्था पनि छैन, शनिश्चरेमा छ ।’

 

शौचालयभित्र ऐनासँगै सिलिङ पंखाको पनि व्यवस्था मिलाइएको छ । नगरबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न शौचालय सञ्चालमा आए पनि औपचारिक उद्घाटन भने गरिएको छैन ।

 

वडाका लागि छुट्याइएको बजेटबाहेक भित्री शृंगार, गिजर, पानीटंकी, मोटर र विद्युत् जडान वडा कार्यालयले व्यवस्थापन गरेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । सीमित बजेटमा पनि उत्कृष्ट कार्य गर्न सकिन्छ भन्ने उदाहरण यसै शौचालयबाट लिन सकिने उनको भनाइ छ ।